के हो क्यान्सर ? यसका लक्षण – कारण र बच्ने उपायहरु के के हुन् ?

के हो क्यान्सर ? यसका लक्षण - कारण र बच्ने उपायहरु के के हुन् ?

के हो क्यान्सर ? यसका लक्षण – कारण र बच्ने उपायहरु के के हुन् ?

क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका  साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका  सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ । यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लार्ख  नयाँ क्यान्सरका बिरामी देखिन्छन् र बर्सेनि करिव ७५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । यही दर कायम रहने हो भने सन् २०१५ सम्ममा करिब १ करोड ५० लाख जति नयाँ  क्यान्सरका रोगी हुने सम्भावना छ । यो संख्या सन् २०३० सम्ममा झण्डै दोव्वर अर्थात् २ करोड ६४ लाख नयाँ क्यान्सरका रोगीहरु हुने भन्ने अनुमान गरिएको छ, जसमध्ये ७० प्रतिशतभन्दा बढी हाम्रोजस्तो विकाशसिल देशमा देखिने छ । हाल क्यान्सरका कारण प्रतिदिन २१ हजार, प्रति मिनेट १५ जना र प्रत्येक ४ सेकेण्डमा १ जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।
मृत्युको १३ प्रतिशत कारण
हाल विश्वमा फोक्सो, आमाशय, स्तन, पाठेघर र मुखको क्यान्सर बढी देखिएका छन् । विश्वमा हुने कुल मृत्युको करिब १३ प्रतिशत कारक तत्व क्यान्सर बनेको छ । विकसित देशमा हुने मृत्युमध्ये क्यान्सर दोस्रो स्थानमा आउँछ भने विकासशिल देशमा तेश्रो स्थानमा आउँछ । क्यान्सररोगबारे विश्वव्यापी रुपमा रोकथाम र नियन्त्रणसम्वन्धी जनचेतना फैलाउनका लागि हरेक वर्ष फेब्रुअरि ४ का दिन विश्व क्यान्सर दिवस मनाउने गरिएको छ ।
नेपालमा कति छन् ?
विश्वव्यापी रुपमा वढिरहेको यो रोग नेपालमा पनि जटिल समस्याको रुपमा देखा पर्दैछ । हाम्रो देसमा हालसम्म कति क्यान्सर रोगी छन् र बर्सेनि कति जनाको मृत्यु हुने गरेको छ भन्ने आधिकारिक तथ्यांक नभए पनि विश्व स्वास्थ्य संगठनको आधारअनुसार वार्षिक करीव ४० हजार नयाँ क्यान्सर रोगी हुने र हाल करिव १ लाखभन्दा बढी क्यान्सर रोगी रहेको अनुमान गरिन्छ । यस रोगको नियन्त्रणका लागि प्राथमिकताका साथ समन्वयात्मक ढंगले कार्यहरु गरि क्यान्सर रोकथाम, नियन्त्रण तथा उपचारका कार्यक्रम  संचालन नगरेमा आगामी दिनमा  यो रोग अझै भयावह हुनेछ ।
नेपालमा धेरैमा देखिने क्यान्सर
भरतपुरस्थित वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको सहयोगवाट मुख्य ७ वटा अस्पतालहरुमा  क्यान्सरको निदान र  उपचार सुविधा छ, जसअन्तर्गत काठमाडौंको वीर, शिक्षण, कान्ति वाल, भक्तपुर क्यान्सर अस्पताल, धरानको वीपी कोईराला इन्स्टिच्युट अफ हेल्थ साइन्स र पोखराको मणिपाल मेडिकल कलेज रहेका छन् । यी अस्पतालका  क्यान्सर बिरामीहरुको सन् २००३ देखि २००९ सम्मको तथ्यांक हेर्दा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, लिम्फ ग्रन्थिको क्यान्सर, आमाशयको क्यान्सर, रगतको क्यान्सर, घाँटीको क्यान्सर, मस्तिष्कको क्यान्सर, दिसा गर्ने नलीको क्यान्सर, छालाको क्यान्सर आदि प्रमुख रुपमा देखिएका छन् ।   
 क्यान्सर रोकथामका लागि स्वस्थ्यकर जीवनशैली अपनाउने, सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोगमा नियन्त्रण गर्ने, अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने, वातावरणीय प्रदुषण नियन्त्रण गर्ने, यौनजन्य रोग नियन्त्रण गर्ने, हेपाटाइटिसको खोप लगाउने, शारीरिक व्यायाम गर्ने  र  सामान्य समस्या देखिएमा पनि तुरुन्त नजिकको स्वास्थ्य सस्थांमा गएर जँचाउन पर्छ ।

के हो क्यान्सर ?

हाम्रो शरीर दुई सयभन्दा बढी विभिन्न आकारप्रकारका करिब ५० खर्ब जति स–साना कोष तथा कोषिकाहरू मिलेर बनेको हुन्छ । यीमध्ये नयाँ बन्ने कोष तथा कोषिकाहरूको वृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर अस्वस्थ्यकर खानपिन, जीवनशैली, वातावरणीय असर तथा अन्य भित्री कारणबाट यसमा खराबी आई कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित भई विस्तारै स–साना गिर्खा बन्दछ । यी गिर्खाहरू २ प्रकारका हुन्छन्:
१. बेनाइन ट्युमर– शरीरमा ढिलो गरि बढ्ने, नोक्सान नगर्ने र अन्य अंगमा नफैलने किसिमका गिर्खालाई बेनाइन ट्युमर भनिन्छ । जस्तैः कोठी, मुसा तथा छालाभित्र हुने बोसोका डल्ला ।
२. मालिनान ट्युमर – शरीरमा छिटोछिटो बढ्ने, नोक्सान गर्ने, एक स्थानबाट अर्का स्थानमा सर्न सक्ने यसप्रकारका गिर्खालाई मालिनान ट्युमर र नियोप्लाज्म अवथा क्यान्सर भनिन्छ ।

क्यान्सर रोग लाग्ने कारण

यो रोग लाग्नुको वास्तविक सबै कारण थाहा नभए पनि करिब ९० प्रतिशत बाह्य कारणमा अस्वस्थ्यकर खानपिन, रहनसहन र वातावरणीय प्रदुषण प्रमुख हुन् । त्यसबाहेक करिब १० प्रतिशत मात्र क्यान्सर लाग्ने आन्तरिक कारणमा वंशानुगत, उमेर, लिंग, जाती आदि हुन् ।
वाह्य कारण
क.धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनः
चुरोट, बिडी, तमाखु, खैनी, सूर्ति आदि धुँवा बनाएर वा चपाएर खाने सूर्तिजथन्य  पदार्थमा चारहजारभन्दा बढी प्रकारका रासायनिक तत्वमध्ये करीव ४० प्रकारका हानिकारक रासायनिक तत्वले विभिन्न अंगहरुको क्यान्सर गराउँछ भन्ने कूरा अनुसन्धानबाट प्रमाणित भईसकेको छ ।
यसकोे सेवनले मुख, श्वासनली, फोक्सो, आमासय, गर्भासय, मूत्रनली, मिर्गौला आदि विभिन्न अंगको क्यान्सर हुन्छ । यसबाट क्यान्सर रोगका साथै मुटु तथा पेटसंबन्धी रोगका साथै फोक्सोसंबन्धी दम, ब्राङेकाइटिसलगायतका रोग पनि लाग्दछ । गर्भवती महिलाले सूर्तिजन्य पदार्थको सेवन गरेमा गर्भमा भएको बच्चालाई समेत नोक्सान पु¥याई गर्भ तुहिने, कम तौलको बच्चा जन्मने, जन्मजात विकृति देखा पर्ने, समय नपुगी जन्मने आदि खतरा देखा पर्न सक्छ । चुरोट, बिडी, तमाखुको  धुँवाको असरले वरिपरि बस्ने अन्य व्यक्तिलाई पनि क्यान्सरलगायत अन्य रोग लाग्न सक्दछ ।
ख.मादक पदार्थको सेवन:
     क्यान्सर लाग्ने प्रमुख कारणमा जाँडरक्सीको अत्यधिक सेवन पनि हो । अमेरिकन इन्स्टिच्युट अफ क्यान्सर रिसर्चले गरेको अध्ययनअनुसार यसको सेवनले मुख, अन्ननली, पेट, कोलोरेक्टम र महिलामा स्तनका साथै अन्य अंगको क्यान्सर हुन सक्छ ।
ग.    खानपिनको असर:
 करिव ३५ प्रतिशत क्यान्सर हुने कारणमा खानपिनमा हुने अखाद्य वस्तुको प्रयोग हो । बासी, सडेगलेका र ढुसी परेका खानेकुरामा क्यान्सर गराउने रासायनिक तत्व पाइन्छ, जसले कलेजो,आन्द्रा,आमाशय आदि अंगको क्यान्सर हुन सक्छ । त्यस्तै  किटनाशक औषधि र रासायनिक मल प्रयोग भएको अन्न, फलफूल, तरकारी र सागपातको सेवनले पनि मुख, अन्ननली, आमाशय आदिको क्यान्सर गराउन सक्छ । बजारमा पाइने विभिन्न खानेकुरा र मिठाइमा हानिकारक रंग, प्रिजरभेटिभ राखेको तथा अन्य अखाद्य वस्तु मिसाएको खानाले पनि मुख, घाँंटी, अन्ननली, आमाशय र आन्द्राको क्यान्सर  हुन  सक्छ । धेरै नुन भएको खाना वा नुन राखेर गालेको अचार वा खानाले आमाशयको क्यान्सर हुने संभावना बढी हुन्छ । पोलेको, डढेको मासुले, बोसोयुक्त खाना वा रातो मासु (राँगा, खसी, गाई, बंगुर) आदिको मासु धेरै खानाले अन्ननली, फोक्सो, प्याङक्रियाज, प्रोष्टेट, कोलोरेक्टल, स्तन, पाठेघर आदि अंगको क्यान्सर हुने संभावना अत्यधिक हुन्छ ।
घ.    विकिरणको असरः
आयोनाइजिङ रेडियसन, वातावरणीय विकिरणका साथै एक्स–रे, सिटि स्क्यानबाट निस्कने विकिरणको प्रभाव अत्यधिक  मात्रामा भएमा रगतको क्यान्सर र सूर्यको प्रकाश पाइने पराबैजनी किरण शरीरमा प्रत्यक्ष रुपले धेरै दिनसम्म परेमा छालाको क्यान्सर हुन सक्छ ।
ङ.वातावरणीय र व्यवसायिक प्रदुषणः
मानिसहरु आफू बसेको वा काम गर्ने ठाँउ वरपर फोहरमैला हुनु, सवारीसाधन र कलकारखानाबाट निस्कने धूलो र धुवाँको असरले, प्रदूषित हावापानी र वातावरणमा पाइने बेन्जिन, आर्सेनिक, काडमिअम, क्रोमियम, एस्बेस्टोज, पोलिसाइक्लिक हाइड्रोकार्बन, भिनायल क्लोराइडजस्ता हानिकारक तत्वहरूले फोक्सो, घाँटी, आमासय, आन्द्रा आदिको क्यान्सर गराउँछ ।
च.    भाईरसको संक्रमण:
विभिन्न भाइरस जस्तै हुमन पापिलोमा भाइरसको संक्रमणले गर्भासयको मुखको  क्यान्सर, हेपाटाइटिस बी भाइरसको संक्रमणले कलेजोको क्यान्सर, इपेस्टाइन–बार भाइरसले श्वासनली र ग्रन्थीसंबन्धी क्यान्सर गराउँछ ।
छ. ब्याक्टेरियाको संक्रमण:
हेलिकोब्याक्टर पाइलोरीको संक्रमणका कारणबाट आमासयको क्यान्सर हुनसक्छ ।
ज.परजीवीको संक्रमण:
सिस्टोसोमियाजस्ता परजीवीको संक्रमणका कारण मूत्रथैलीमा क्यान्सर भएको पाइएको छ ।
भित्री कारण
१.व्यक्तिगत कारण : क्यान्सर गराउने विभिन्न कारणमध्ये व्यक्तिगत कारण पनि एक हो । व्यक्तिगत कारणहरू निम्न छन्
क.    लिंग: मानिसहरुको शरीरलाई आवश्यक हर्मोनको गडबडीले पुरुषमा प्रोष्टेट, अण्डकोष र महिलामा स्तन र डिम्बाशयको क्यान्सर हुन्छ ।
ख.    उमेर:  क्यान्सर भर्खर जन्मेको बच्चालाई लागेको पाइए पनि बढी उमेरका व्यक्तिलाई यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।   
ग.   जाती:  मुस्लिम जातिमा पाठेघर मुखको क्यान्सर अन्य समुदायभन्दा कम देखिएको छ । छालाको क्यान्सर काला जातिभन्दा गोरा जातिलाई बढी देखिएको छ, किनकि गोरा समुदायको छालामा मेलानिन पिगमेन्ट कम हुने भएकाले सूर्यको किरणको असर बढी पर्छ  ।
घ. धेरै बच्चा जन्माउने महिला: गर्भासयको क्यान्सर धेरै बच्चा जन्माउने महिलालाई बढी देखिएको छ ।
ङ.  व्यक्तिगत सरसफाइको कमी: पाठेघर, गुप्तांग, छाला, मुख आदि अंगको क्यान्सर व्यक्तिगत सरसफाइको कमीले देखिएको छ ।
२.वंशाणुगत कारण
केही क्यान्सर रोग वंशाणुगत कारणले पनि हुने गरेको छ । जस्तै आँखामा देखिने रेटिनोब्लास्टोमा,ठुलो आन्द्रामा हुने पोलिपोसिस कोली र र स्तन क्यान्सर नजिकका नातेदारमा लाग्ने सम्भावना बढी हुन्छ ।
३.प्रतिरोधात्मक शक्तिको कमी
हाम्रो शरीरमा मानसिक तनाव, चिन्ता, पोषणको कमी, विभिन्न रोगको संक्रमण आदि कारणले शरीर कमजोर भई रोगसंग लड्ने क्षमताको कमी भएका बेला क्यान्सर हुन सक्छ ।
४.घर्षण:  हाम्रो शरीरको कुनै पनि भागमा लगातार घर्षण भएर त्यस ठाउँको कोष तथा कोषिकामा असामान्य परिवर्तन भई क्यान्सर हुन सक्छ ।  जस्तैः नक्कली दाँतको  लगातार घर्षणले मुखको क्यान्सर हुन सक्छ ।
५.सामाजिक र आर्थिक अवस्था कमजोरः आर्थिक अवस्था कमजोर भएका  मानिसमा  छाला, मुख तथा पाठेघर क्यान्सर बढी पाइन्छ ।
 

 

क्यान्सर रोगका चिन्ह र लक्षण

 

क्यान्सरका लक्षण बिरामीको शारीरिक अवस्था, अंग र  प्रकृतिअनुसार फरक–फरक किसिमको हुने भएकाले एकै व्यक्तिलाई सवै खाले लक्षण देखा पर्दैैन । यी लक्षण सुरुमा  सामान्य खालको अरु रोगसंग मिल्दोजुल्दो हुन्छ, जसले गर्दा रोगको लक्षणअनुसार धेरैले सामान्य उपचार गरिरहेका हुन्छन् । जस्तो फोक्सोको क्यान्सर भएमा क्षयरोगको जस्तै लक्षण देखा पर्ने भएकाले कतिपय मानिसले क्षयरोगको उपचार गरिरहेका हुन्छ । केही समय पछि रोग बढ्दै जान्छ र विभिन्न असामान्य लक्षण देखा परि  क्यान्सरको निदान  गर्दा रोग फैलिसकेको हुन्छ ।
यी लक्षण प्रभावित अङ्ग र रोगको फैलावटअनुसार बेग्लाबेग्लै किसिमका निम्न अनुसार हुन्छ:
१.पाचन प्रणाली: मानव शरीरमा महत्वपूर्ण प्रणालीको रुपमा रहेको पाचन प्रणालीका अंगमा क्यान्सर लागेमा खाना खान तथा तरल पदार्थ निल्न अप्ठेरो हुने, खान रुची नहुने, राम्ररी नपच्ने, वाकवाक लाग्ने, बान्ता हुने, दिसा कब्जियत हुने वा पखाला लाग्ने, दिसामा रगत देखिने, पेट ढुस्स हुने,फुल्ने वा दुख्ने, शरीरमा रगतको कमी हुने, ज्वरो आउने, शरीर शिथिल हुने, सामान्य काम गर्दा पनि थकाई लाग्ने आदि विभिन्न लक्षण देखिन्छन् ।
२.श्वास प्रणाली : यस अंगको क्यान्सर भएमा लामो समयसम्म सुख्खा खोकी लागिरहने, खकारमा रगत देखापर्ने, स्वर परिर्वतन हुने (धोद्रो), स्वाँ–स्वाँ हुने,  छाति दुख्ने, मन्द–मन्द ज्वरो आउने, शरीर कमजोर अनुभव हुने, रिंगटा लाग्ने, रगतको कमी देखिने आदि लक्षण देखापर्छन ।
३.पाठेघर: महिलाको शरीरमा पाठेघर, डिम्वाशय, डिम्बनली प्रमुख प्रजनन अंग हुन् । यी अंगमा क्यान्सर भएमा महिनावारी नहुँदा पनि रगत देखापर्ने, यौन सम्पर्कपछि रगत देखा पर्ने, महिनावारी सुकिसकेका महिलाको पुनः रगत आउने, महिनावारी हुँदा रगत धेरै बग्ने वा धेरै दिनसम्म बगिराख्ने, सेतो पानी निस्कने आदि असामान्य लक्षण देखिन्छन् ।
४ स्तन: स्तन क्यान्सर महिलालाई हुने क्यान्सरमा विश्वमा प्रथम स्थानमा आउँछ । यो क्यान्सर पुरुषलाई पनि हुने गरेको छ । स्तनमा क्यान्सर हुदां  स्तनमा गाँठागुँठी देखापर्ने, मुन्टोको आकारमा परिवर्तन हुने,  मुन्टोबाट रगत वा पीप मिसिएको दुध आउने र काखीमुनी गिर्खा देखापर्ने आदि लक्षण र चिन्ह देखा पर्दछन् ।
५.छालाः यसको क्यान्सर हुँदा छालामा भएका घाउखटिरा धेरै दिनसम्म निको नहुने,  शरीरमा भएको कोठी वा मुसा एक्कासी बढ्ने आदि लक्षण देखा पर्छन् ।
 अन्य लक्षणः
उपरोक्त लक्षणका साथै क्यान्सर लाग्दा अन्य विभिन्न लक्षण पनि देखा पर्छ ।  जसमा थोरै समयमा शरीरको वजन घट्ने, भोक, निन्द्रा नलाग्ने, शरीरमा रगतको कमी देखिने, साधारण काम गर्दा पनि थकाई लाग्ने, लामो समयसम्म ज्वरो आइरहने इत्यादि लक्षण  देखा पर्दछन् । कतिपय अवस्थामा कुनै पनि लक्षण देखा नपरे सामान्य स्वास्थ्य जाँचबाट पनि क्यान्सर लागेको पत्ता लाग्छ ।

क्यान्सर रोगको निदान गर्ने तरिका

क्यान्सर रोगको निदान गर्नका लागि सम्वन्धित चिकित्सकको सल्लाह अनुसार परीक्षण अस्पताल वा मेडिकल कलेजमा गर्नुपर्छ । बिरामीकोे समस्या र रोगको अवस्था अनुसार निम्न परीक्षण गर्नुपर्छ ।
क) पिसाब  परीक्षणः  बिरामीको पिसाबमा केही खराबी छ कि वा रगत देखा परेको छ कि भनेर ल्याबमा परीक्षण गर्नुपर्छ ।
ख) दिसा परीक्षणः  दिसामा रगत वा अन्य खराबी छ कि भनेर परीक्षण गरिन्छ ।
ग) रगत परीक्षणः रगतमा विभिन्न किसिमका परीक्षण सम्वन्धित चिकित्सकको सल्लाहअनुसार गर्नुपर्छ । यसमा प्रायःटिसि, डिसि, इएसआर, एचबी, ब्लड युरिया, ब्लड सुगर, सेरम क्रेटनाइन, लिभर फङसन टेस्ट, इन्जाइम टेस्टआदि गर्नुपर्छ ।
घ) सेरेबोस्पाइनल फ्लुड:  मस्तिष्कमा भएको तरल पदार्थको परीक्षणबाट त्यससम्वन्धी केही खराबी छ कि भनेर थाहा हुन्छ ।
ङ) स्पुटम साइटोलोजी टेस्ट: खकारको ल्याब परीक्षणबाट फोक्सोमा क्यान्सर वा अन्य रोग भएको थाहा हुन्छ ।
च ) बोनम्यारो टेष्ट:  हाडभित्र रहेको रक्तमासीको परीक्षणबाट रगतमा क्यान्सर भए–नभएको थाहा हुन्छ
छ) साइटोलोजी/हिस्प्याथोलाजी: क्यान्सरको शंका लागेको शरीरको अंगमा सुइको मद्दतले वा सानो मासुको टुक्रा काटेर निकाली ल्याबमा बायोस्पी परीक्षण गर्नुपर्छ । यसबाट क्यान्सरको निश्चित किटानका साथै कुन अवस्थाको क्यान्सर भएको थाहा हुन्छ र यही रिपोर्टका आधारमा सम्वन्धित चिकित्सकले उपचार गर्छ ।
प्रायजसो क्यान्सर भन्नेबित्तिकै घातक रोग हो र मरिहालिन्छ भन्ने त्रास प्रायजसो सबैमा हुन्छ । तर क्यान्सर रोग लाग्दैमा डराउने र आत्तिइहाल्नुपर्दैन यो रोग  उपचारबाट निको हुन्छ ।  क्यान्सर भएमा रोगको अवस्था, कुन अंगमा लागेको छ, ती कुरामा ध्यान दिएर सम्वन्धित विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।
क्यान्सरको उपचार गर्ने प्रमुख उद्येश्य नै क्यान्सर रोग निको पार्ने, यो रोगलाई बढ्न नदिन वा क्यान्सर रोग लागेपछि देखिने समस्याअनुसार उपचार गर्नु नै हो । प्रायजसो धेरै बिरामी वा बिरामीका परिवारले क्यान्सरको उपचार गरे पनि फाइदा हुँदैन भनेर उपचार नगराउने वा उपचार गरे पनि बीचमै छाड्ने गर्छन् । क्यान्सरको उपचार प्रायः एक विधिवाट मात्र नगरेर विभिन्न विधिबाट गर्नुपर्ने भएकाले बिरामीलाई केही सामान्य समस्या देखा पर्ने, समय पनि बढी लाग्ने र खर्च पनि धेरै हुने भएकाले प्रायः बीचमै  छाडेर सबै उपचार नगर्ने गरिन्छ ।
नेपाल सरकारले हाल क्यान्सर विरामीको उपचारका लागि केही सहयोग दिनुका साथै गरिब तथा असहाय विरामीका लागि सरकारी अस्पतालमा  अप्रेशन चार्ज, बेड चार्ज र विभिन्न परीक्षणमा छुटको व्यवस्थासमेत गरेको छ । त्यसैले क्यान्सरका बिरामीले नआत्तिएर सम्वन्धित चिकित्सकको सल्लाहअनुसार उपचार गरेमा अधिकांश क्यान्सर रोग निको हुन्छ ।

(प्रधानाङ्ग भरतपुरस्थित बिपी कोइरालाईला मेमोरियल क्यान्सर अस्पतालको क्यान्सर रोकथाम,नियन्त्रण तथा अनुसन्धान विभाग प्रमुख हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.